साउन २४ ,काठमाडौं । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनशैलीको संरक्षण तथा उनीहरूले भोगिरहेका चुनौतीबारे चेतना फैलाउने उद्देश्यले आज विश्वभर विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा प्रत्येक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् १९८२ मा जेनेभामा आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मै बसेको स्मरणमा सोही दिनलाई दिवसका रूपमा चयन गरिएको हो।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका करिब ९० देशमा झन्डै ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। यिनीहरू विश्व जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन्।
आदिवासी जनजातिहरूले विश्वभर बोलिने करिब सात हजार भाषामध्ये ठूलो हिस्सा प्रतिनिधित्व गर्छन् भने करिब पाँच हजार फरक संस्कृति बोकेका छन्। उनीहरूले पुस्तौँदेखि आफ्ना विशिष्ट परम्परा, जीवनशैली तथा प्रकृतिसँगको अन्तरसम्बन्धमा आधारित ज्ञान र अभ्यास संरक्षण गर्दै आएका छन्।
सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक हिसाबले आदिवासी समुदायहरू आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक पहिचान राख्छन्। उनीहरूले आफ्नो पहिचान, परम्परागत जीवनपद्धति तथा पुख्र्यौली भूमि र प्राकृतिक स्रोतसाधनमाथिको अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका छन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार इतिहासका विभिन्न चरणमा आदिवासी समुदायका अधिकार उल्लङ्घन हुँदै आएको छ र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये पर्दछन्।
यस दिवसले आदिवासी जनजातिको अधिकार संरक्षण, भाषा, संस्कृति, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध जोगाउने आवश्यकतामा जोड दिन्छ। साथै, निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार, नागरिक समाज र अन्तरराष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्ने अवसरका रूपमा यो दिवसलाई लिइन्छ।
विश्व आदिवासी दिवसले आदिवासी जनजातिहरूको योगदानलाई सम्मान गर्दै उनीहरूले सामना गरिरहेका चुनौतीप्रति विश्वको ध्यानाकर्षण गराउने महत्वपूर्ण अवसर प्रदान गरेको छ।