web image
साउन २७ ,काठमाडौं । भारतको असममा आएको भीषण बाढीका बीच बोर्नाली बरुवाहले ९७ वर्षीया सासू लोकादा दुवाराहलाई केराको थामबाट बनाइएको अस्थायी डुंगामा राखेर सुरक्षित स्थानमा पुर्याएकी छन्।
जुलाई १९ को मध्यरातमा बाढीको पानी घरभित्र पस्दै गएपछि बरुवाह, उनका श्रीमान् र सासूले उद्धार टोली वा डुंगा नपाएपछि आफैंले केराको थामको सहारा लिएर सुरक्षित स्थानतर्फ यात्रा गरेका थिए। तीन–चार फिट गहिरो पानी र तीव्र बहाव पार गर्दै उनीहरू करिब एक घण्टापछि राहत शिविर पुगे।
असममा आएको बाढीबाट हालसम्म १०० जनाको मृत्यु भएको छ भने लाखौँ मानिस प्रभावित भएका छन्। बाढीले हजारौँ घरमा क्षति पुर्याएको छ र ठूलो संख्यामा मानिस राहत शिविरमा बस्न बाध्य भएका छन्।
बरुवाहका लागि बाढीले घरसँगै वर्षौँको मेहनतमा बनाएको पशुपालन व्यवसायसमेत तहसनहस बनाएको छ। पत्रकारिता छाडेर पशुपालनमा लागेकी उनले करिब ३०० बाख्रा, ५०० हाँस र १ हजार कुखुरा पाल्दै आएकी थिइन्। बाढीमा अधिकांश पशुपन्छी बगेपछि उनका करिब ६० बाख्रा मात्रै बाँचेका छन्।
बरुवाहका अनुसार उनको गाउँमा जीवनकालमै पहिलोपटक यति ठूलो बाढी आएको हो। घर, पशुपन्छी, उपकरण र अन्य सम्पत्तिमा ठूलो क्षति भए पनि उनी गाउँ छाड्ने पक्षमा छैनन्।
भूगोलविद्का अनुसार जलवायु तथा वातावरणीय परिवर्तनसँगै नदीको प्राकृतिक बहाव क्षेत्रमा बढ्दो बसोबास, वन विनाश, खानी तथा पूर्वाधार निर्माणले असममा बाढीको जोखिम बढाइरहेको छ। यस्तो अवस्थासँग जुध्न नदी बेसिनलाई समेटेर दीर्घकालीन योजना र विभिन्न राज्यबीच समन्वय आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
बाढीबाट फर्किएपछि बरुवाह अब घरको जग उचाल्ने, सुरक्षित आश्रयस्थल बनाउने तथा खाद्यान्न र खानेपानीको भण्डारण गर्ने योजनामा छिन्। उनको भनाइमा, बाढीसँग डराएर गाउँ छाड्नेभन्दा अब त्यससँगै बाँच्न सिक्नुपर्ने अवस्था आएको छ।
Share this with your friends: