भदौ १८ , काठमाडौं । तालिबान शासनका कारण विद्यालय तथा विश्वविद्यालय जानबाट वञ्चित अफगान छात्राका लागि क्यानडाबाट सञ्चालन गरिएका भर्चुअल तथा भूमिगत कक्षाहरू शिक्षाको महत्वपूर्ण माध्यम बनेका छन्।
क्यानडाको टोरन्टोमा रहेका कवि तथा शिक्षाविद् हजरत वहरिजले सञ्चालन गरेको साप्ताहिक अनलाइन कक्षामा अफगानिस्तानका विभिन्न स्थानबाट अधिकांश युवा महिला सहभागी हुँदै आएका छन्। उनीहरूले साहित्य, फोटोग्राफी र आलोचनात्मक सोचलगायत विषय अध्ययन गरिरहेका छन्।
वहरिजको गैरनाफामूलक संस्थाले अफगानिस्तानभित्र पनि गोप्य विद्यालय सञ्चालन गरिरहेको जनाएको छ। उनका अनुसार यस्ता भूमिगत कक्षामा १ हजार ६ सयभन्दा बढी छात्रा अध्ययनरत छन्। महिला शिक्षकहरूले आफ्नै घरलाई सिकाइ केन्द्रका रूपमा प्रयोग गरेर गणित, भौतिकशास्त्र, रसायनशास्त्र र इतिहास पढाइरहेका छन्।
तालिबानले सन् २०२१ मा पुनः सत्ता कब्जा गरेपछि अफगान छात्रालाई माध्यमिक तथा उच्च शिक्षा लिन प्रतिबन्ध लगाएको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनका अनुसार हाल २४ लाख अफगान छात्रा माध्यमिक शिक्षाबाट वञ्चित छन् र यो संख्या सन् २०३० सम्ममा ४० लाख पुग्न सक्ने अनुमान गरिएको छ।
यही प्रतिबन्धका कारण विदेशबाट सञ्चालन हुने भर्चुअल विद्यालय अफगान छात्राका लागि शिक्षासँग जोडिइरहने महत्वपूर्ण विकल्प बनेका छन्। क्यानडास्थित ‘राइट टु लर्न इन अफगानिस्तान’ संस्थाले पनि भर्चुअल विद्यालय सञ्चालन गरिरहेको छ, जहाँ ७ सयभन्दा बढी विद्यार्थीमध्ये ९२ प्रतिशत छात्रा रहेको जनाइएको छ।
संस्थाका अनुसार विद्यार्थीहरूले अफगानिस्तानको पूर्वसरकारी पाठ्यक्रमअन्तर्गत कक्षा ७ देखि ९ सम्म अध्ययन गरेपछि क्यानडा तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त पाठ्यक्रममार्फत माध्यमिक शिक्षा पूरा गर्ने अवसर पाउँछन्। अध्ययन पूरा गरेपछि उनीहरूले विदेशमा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिन सक्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्राप्त गर्नेछन्।
क्यानडा सरकारले पनि विगत पाँच वर्षमा शिक्षा र स्वास्थ्य कार्यक्रमका लागि १४ करोड ३० लाख अमेरिकी डलरभन्दा बढी सहयोग गरेको जनाएको छ। तालिबानमार्फत लगानी नगरी अफगान नागरिक, विशेषगरी महिला तथा छात्राका लागि शिक्षा अवसर विस्तार गर्ने प्रयास भइरहेको क्यानडाको भनाइ छ।
तालिबान शासनले महिला तथा छात्रामाथि लगाएको शैक्षिक प्रतिबन्ध कायम रहेसम्म यस्ता वैकल्पिक शिक्षा कार्यक्रमले उनीहरूलाई अध्ययन जारी राख्न र भविष्यका अवसरका लागि तयार हुन सहयोग गर्ने अपेक्षा गरिएको छ।