भदौ १७ , काठमाडौं । अफगानिस्तानका बालिकालाई शिक्षा दिने उद्देश्यले स्थापना गरिएको स्कुल अफ लिडरसिप अफ अफगानिस्तान ९सोला० ले पूर्वी अफ्रिकी मुलुक रुवान्डामा स्थायी विद्यालय सञ्चालन गर्न लागेको छ। विद्यालयमा यसै महिनाको अन्त्यदेखि नियमित कक्षा सुरु हुने जनाइएको छ।
सोला की संस्थापक शबाना बसिज–रासिखले रुवान्डामा विद्यालयका लागि नयाँ परिसर निर्माण भएपछि अफगान बालिकाका लागि स्थायी घर तयार भएको बताएकी छन्। सुरक्षा संवेदनशीलताका कारण विद्यालयको ठेगाना सार्वजनिक गरिएको छैन।
सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएपछि तालिबानले पुनः सत्ता नियन्त्रणमा लिएसँगै अफगानिस्तानमा बालिकाको शिक्षामाथि कडा प्रतिबन्ध लगाइएको थियो। त्यसपछि बसिज–रासिखसहित सोला विद्यालयका विद्यार्थी र कर्मचारी रुवान्डा पुगेका थिए।
रुवान्डा पुगेको चार दिनपछि करिब २५० जनाको समूहले एउटा होटलबाट अस्थायी रूपमा कक्षा सञ्चालन पुनः सुरु गरेको थियो। अहिले रुवान्डास्थित नयाँ परिसरमा १२२ जना अफगान बालिका अध्ययनरत छन्।
संयुक्त राष्ट्रसंघको अगस्टमा प्रकाशित प्रतिवेदनअनुसार अफगानिस्तानमा करिब २४ लाख बालिका माध्यमिक शिक्षाबाट वञ्चित छन्। तालिबानले सन् २०२१ मा छैटौँ कक्षाभन्दा माथि बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाएपछि उक्त व्यवस्था अझै कायम छ।
सोला विद्यालयमा अध्ययनरत बालिकाहरूले शिक्षा प्राप्त गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे पनि अफगानिस्तानमा रहेका आफ्ना साथी तथा दिदीबहिनीले समान अवसर नपाएकोमा दुःख व्यक्त गर्ने गरेका छन्। विद्यालयकी संस्थापक बसिज–रासिखका अनुसार शिक्षाबाट वञ्चित बालिकाको भविष्य बालविवाहलगायत विभिन्न जोखिमतर्फ धकेलिन सक्छ।
सन् २०१६ मा अफगानिस्तानको राजधानी काबुलमा बालिकाका लागि आवासीय विद्यालयका रूपमा स्थापना भएको सोलामा विश्वका विभिन्न स्थानबाट हरेक वर्ष हजारौँ अफगान बालिकाले आवेदन दिने गरेका छन्। रुवान्डाको नयाँ परिसरले विद्यार्थी संख्या दोब्बर बनाउन सक्ने भए पनि प्राप्त आवेदनमध्ये ९९ प्रतिशतभन्दा बढीलाई अझै भर्ना गर्न नसकिने विद्यालयले जनाएको छ।
अझ धेरै अफगान बालिकासम्म शिक्षा पुर्याउन सोलाले ‘सोलाएक्स’ नामक अनलाइन शिक्षा प्रणाली पनि सञ्चालनमा ल्याएको छ। यसमार्फत कक्षा ६ देखि १२ सम्मको अफगान पाठ्यक्रममा आधारित शिक्षा मोबाइल फोन र ह्वाट्सएपमार्फत लिन सकिन्छ।
सन् २०२४ मा सुरु गरिएको सोलाएक्समा अहिले ४१ हजार विद्यार्थी आबद्ध छन्। उनीहरूमध्ये अधिकांश अफगानिस्तानमै रहेका छन् भने अन्य ७६ देशमा रहेका अफगान विद्यार्थीले पनि यसको प्रयोग गरिरहेका छन्।
अफगानिस्तानमा इन्टरनेट र स्मार्टफोनको सीमित पहुँचलाई ध्यानमा राखेर सोलाएक्समा विद्यार्थीले सुरक्षित रूपमा पढ्न सक्ने सुविधा राखिएको छ। विद्यार्थीले परिवारका सदस्यको मोबाइलसमेत प्रयोग गर्न सक्ने गरी प्रणाली विकास गरिएको छ। विद्यार्थीका लागि प्रारम्भिक तहका कक्षा दारी र पश्तो भाषामा तथा माथिल्ला तहका कक्षा अंग्रेजी भाषामा सञ्चालन गरिन्छ।
तालिबानले बालिकालाई शिक्षा दिने परिवारको विवरण थाहा नपाओस् भनेर अफगानिस्तानबाट बाहिरिनुअघि सोलाका पुराना अभिलेख जलाउनुपरेको बसिज–रासिखले बताएकी छन्। उक्त घटनाले आफूलाई अझै भावनात्मक रूपमा प्रभावित पारिरहेको उनको भनाइ छ।
सोला र यसका सबै शैक्षिक कार्यक्रम निःशुल्क सञ्चालन हुँदै आएका छन्। विश्वका विभिन्न देशका दाताबाट प्राप्त सहयोगबाट विद्यालय तथा अनलाइन शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।
अक्सफोर्ड विश्वविद्यालयकी पूर्व प्रमुख डेम लुइस रिचर्डसनले बसिज–रासिखको बालिका शिक्षाप्रतिको प्रतिबद्धताको प्रशंसा गरेकी छन्। रुवान्डामा शिक्षा लिन आफ्नो परिवार, देश र परिचित वातावरण छाडेर जाने अफगान बालिकाले ठूलो मूल्य चुकाइरहेको भन्दै उनले उनीहरूलाई सहयोग आवश्यक रहेको बताएकी छन्।
अमेरिकी समाजसेवी मेलिन्डा फ्रेन्च गेट्सले पनि महिला तथा बालिकाको सशक्तीकरणमा बालिका शिक्षाको महत्वपूर्ण भूमिका रहेको भन्दै बसिज–रासिखलाई सहयोग गरेकी छन्। सन् २०२४ मा फ्रेन्च गेट्सले महिला तथा बालिकाका लागि प्रभावकारी काम गरिरहेका १२ जना नेतृत्वकर्तालाई २ करोड अमेरिकी डलरका दरले सहयोग उपलब्ध गराउने पहलअन्तर्गत बसिज–रासिखलाई पनि छनोट गरेकी थिइन्।
बसिज–रासिखले आफूले प्राप्त सहयोगको रकम अफगानिस्तानका अन्य नागरिक समाज संस्थालाई समेत उपलब्ध गराएको बताएकी छन्। अफगान महिला तथा बालिकाका लागि काम गर्ने संस्थाहरूले एक्लै परिवर्तन ल्याउन नसक्ने भएकाले बलियो संस्थागत सञ्जाल आवश्यक रहेको उनको भनाइ छ।
उनका अनुसार विदेशमा बसेर अफगान बालिकालाई शिक्षित बनाउने अभियान भविष्यमा उनीहरूलाई आफ्नै देश फर्किएर नेतृत्व गर्न सक्षम बनाउने उद्देश्यमा केन्द्रित छ।
रुवान्डामा स्थायी विद्यालय सञ्चालनमा आएपछि आफ्नो अभियान अझ बलियो भएको बताउँदै बसिज–रासिखले अफगान बालिकाका लागि शिक्षा अभियान निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
“हामी तयार छौँ। हामी यो सन्देश विश्वभर र अफगान परिवार तथा बालिकासम्म पुर्याउन तयार छौँ। हामी यहाँ छौँ र सधैँ यहाँ रहनेछौँ,” उनले भनेकी छन्।