कात्तिक ५, काठमाडौं । कीर्तिपुरको बल्खु खोलामा मृत फेला परेकी महिलाको सनाखत भएको छ।
शुक्रबार बिहान साढे ६ बजेतिर कीर्तिपुर नगरपालिका वडा नम्बर २ स्थित बल्खु खोलामा एक महिलाको शव फेला परेको थियो। उनको अहिले सनाखत भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
उनी गोरखा नगरपालिका वडा नम्बर २ ताप्ले घर भई कीर्तिपुर नगरपालिका नगाउँमा बस्दै आएकी अन्दाजी ४०/४२ वर्षीया शान्ता थापा मगर (भुजेल) हुन्।
उनको शव कीर्तिपुर र चन्द्रागिरि नगरपालिका जोडिने झुलुंगे पुलभन्दा अन्दाजी १०० मिटर तल खोलामा फेला परेको थियो। बिहान मर्निङ वाक गर्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर भएको थियो।
प्रहरीले उनको पहिचान शवसँगै बरामद भएको मोबाइल फोनबाट गरेको हो। फोनबाटै उनको पहिचान खुलाएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।
उनका अनुसार शान्ता असोज २८ गते देखि सम्पर्कविहीन भएकी थिइन्। उनी कीर्तिपुरमा आफ्ना श्रीमानसँग बस्थिन्।
अहिले उनको परिवार सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ।
'२८ गतेदेखि हराइरहेको भन्ने कुरा आएको छ। उनी सामान्य ज्याला मज्दुरी गर्ने, मापसे पनि गर्नेगरेको खुलेको छ,' उनले भने, 'कसरी मृत्यु भयो भन्ने अहिले खुलिसकेको छैन।'
प्रहरीले शव सड्न लागिसकेको अवस्थामा फेला पारेको थियो। पोष्टमार्टमको लागि शान्ताको शव महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको छ।
'बाहिरी चोटपटक केही देखिएको छैन। हामीले शव पोष्टमार्टम गर्न पठाएका छौं,' उनले भने, 'भित्री चोटपटक भए त्यसबाट देखिएला।'
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।