भदौ ३ , काठमाडौं । बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घटनापछि बालिकाको खोजीमा प्रहरीसँगै खटिएका एक युवक पनि रहेका छन्।
जितपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुम्बासी बस्तीकी तीन वर्षीया गरिमा चौधरीको हत्यामा संलग्न रहेको आरोपमा जितपुरसिमरा–२ निवासी सुमन थापालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार थापाले प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकार गरेका छन्।
मंगलबार साँझ तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेर अनुसन्धान अघि बढाइएको थियो। घटनास्थलमा उपस्थित कुकुरले संकेत गरेपछि प्रहरीले थापालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धानका लागि सुमनले काम गर्ने ना १ ज ७७५८ नम्बरको म्याजिक भ्यानका चालक प्रोग्रेस चौधरीलाई पनि नियन्त्रणमा लिएको छ। यद्यपि घटनामा आफ्नो मात्रै संलग्नता रहेको थापाले प्रहरीसमक्ष बताएका छन्।
प्रहरी अनुसन्धानका अनुसार बालिका आइतबार बिहानदेखि बेपत्ता भएकी थिइन्। खोजी कार्य जारी रहे पनि प्रारम्भिक चरणमा प्रहरीले हत्या भएको अनुमान गर्न सकेको थिएन।
मंगलबार साँझ घरबाट करिब २०० मिटर टाढा रहेको एउटा खाली घरमा कपडाले बेरेर फालिएको अवस्थामा बालिकाको शव फेला परेको थियो। स्थानीयले दुर्गन्ध आएको जानकारी दिएपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित खोजी अभियान सञ्चालन गरेको थियो।
प्रहरीका अनुसार बालिका हालै जितपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयको प्ले समूहमा भर्ना भएकी थिइन्। घटनापछि परिवार शोकमा डुबेको छ भने बालिकाकी आमा अर्धचेत अवस्थामा रहेको बताइएको छ।
यस घटनाको विरोधमा स्थानीय बासिन्दाले बुधबार इलाका प्रहरी कार्यालय सिमराअगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडक खण्डमा केही समय यातायातसमेत अवरुद्ध भएको थियो।