साउन ३२, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ राजदेवी सामूदायिक बनमा मृत फेला परेकी १६ वर्षिया कृशला चौधरीको हत्या भएको खुलासा भएको छ । हत्या आरोपमा उदयपुर प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ घर भएका २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदा छन् । त्रियुगा नगरपलिका–६ घर भएकी कृशला चौधरीको साउन १३ मा बेपत्ता भएकी थिइन् । साउन १९ मा शव फेला परेपछि घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
साउन २० मा मृतकका बुवा प्रेम कुमार चौधरीले शवको सनाखत गरेसँगै प्रहरीले १ सय जना शंकास्पदहरुसँग सोधपुछ गरेको थियो । उचितलाल सदा र विषे सदा मिलेर राजदेवी सामुदायिक बन स्थित रातमाटे खहरे खोलामा घाँटी थिचेर किशोरीको हत्या गरेको अनुसन्धानबाट थाहा भएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताएका छन्।
आरोपी उचितलाल सदाले कृशला चौधरीले आफ्नो घर परिवार बिगारेको हुनाले बदला स्वरुप हत्या गरेको प्रहरीलाई बताएका छन् । उचितलालको पत्नी र कृशलाको बिचमा चिनजान थियो । पत्नीलाई गलत कुरा सिकाएर ‘घर भाँडेको’ आरोप लगाएर उचितलालले विषे सदाको सहयोगमा कृशलालाई खहरेमा बोलाएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
मृतकका आफन्तले हत्यारा पत्ता लगाउन दवाव दिँदै उदयपुरमा आन्दोलन गरेका थिए । संघीय संसदमा पनि हत्याबारे कुरा उठाइएको थियो । प्रहरीले अदालतबाट १० दिनको म्याद लिएर आरोपीहरुमाथि अनुसन्धान गरिरहेको छ ।