चैत ४ काठमाडौं । एघार महिनाअघि मलेसियामा हत्या गरिएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ।
गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो। रोजगारीका लागि मलेसिया पुगेकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन।
श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया पुगेकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए। छोरी तिलमायाको हत्या भएको खबर पाएदेखि नै शव नेपाल ल्याउनका लागि ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाएकी थिइन्। तर पनि हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन आनाकानी गरिएको थियो।
तिलमायाको शव आज मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने जनाइएको छ।