मंसिर ३, काठमाडौं । सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक छठ पर्वआज मनाइँदैछ। छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।तराई–मधेसका सबै जिल्ला, काठमाडौँ सहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।
यो पर्वमा आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिपूर्वक समापन हुन्छ ।बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् ।
यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने जनविश्वास छ ।सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ ।