असोज १५ काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म पुर्याउन ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गर्ने बताएकी छन्।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले ज्येष्ठ नागरिकलाई संरक्षण र हेरचाहको विषयमा मात्र सीमित नगरी उनीहरूको ज्ञान, अनुभव, सीप र सामाजिक योगदानलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताएकी हुन्।
उनले बदलिँदो पारिवारिक संरचना, सामाजिक परिवेश र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, हेरचाह र एक्लोपनका विषय थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेकी छन्।
मन्त्री बादीका अनुसार सरकारले संविधान तथा प्रचलित कानुनअनुसार ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण तथा हेरचाहसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रस्तावित ‘अनुभव बैंक’मार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवलाई डिजिटल प्रविधिको प्रयोग गरी अभिलेखीकरण गरिनेछ। त्यसलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समाज तथा राष्ट्रको विकासमा उपयोग गर्ने अवधारणासहित कार्यक्रम अघि बढाइने मन्त्रालयको भनाइ छ।
मन्त्री बादीले दीर्घ जीवनलाई उमेरको निरन्तरतामात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदाका रूपमा लिनुपर्ने बताएकी छन्।