भदौ १८,काठमाडौं । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । बच्चा जन्मिने समय नहुँदै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।
शिशुको पेट भित्रै मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रसूति व्यथाको पीडाका कारण शल्यक्रिया पश्चात् मृतक परियार मुर्छा परेको र आइसीयूमा राखेर उपचार गर्दा पनि होस नखुलेर मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ।
तर, मृतकका आफन्तले भने अस्पतालका ड्युटीमा रहेका नर्सिङ स्टाफका नर्सहरूले उल्टै थर्काएको र अरु अस्पताल लगेर जानू भनेको हेमा र कल्पनाले बताए। उहाँहरूले समयमै अप्रेसन नगेरेको कारण राधाको मृत्यु भएको आरोप लगाएका छन्।
व्यथा लागिसकेपछि टाउको ठुलो छ अप्रेसन गर्न भन्यौँ। तर उहाँहरूले नर्मल बच्चा जन्मिन्छ भन्नुभो। जब पाठेघरको पानी सक्किएर ब्लिडिङ हुन थाल्यो तब हत्तपत्त बिरामीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गरियो। राधा पेटको बच्चाको मृत्यु हुनुमा अस्पताल जिम्मेवार छ,’ हेमाले आक्रोशित हुँदै भनिन्।
अस्पतालका नर्सहरूमा बोल्ने सभ्यतासम्म नभएको, बिरामीको पीडा र अवस्था बुझ्न नआउने गरेकाले राधाको मृत्यु हुन पुगेको बताएका छन्।अस्पताल प्रशासनले यो विषयमा बुझेर थप टिप्पणी गर्ने जानकारी दिएको छ।