असार २१, सुर्खेत। सुर्खेतमा छाउगोठमा साथी कुर्न गएकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
बलात्कार गरेको आरोपमा १४ वर्षीय चेतन गिरी, १५ वर्षीय जनक शर्मा र १८ वर्षका पदम गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै बलात्कार गर्न सहयोग गरेको आरोपमा अनुसन्धानका लागि छाउ भएकी किशोरीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए ।
पश्चिम सुर्खेतकी १५ वर्षीया बलात्कृत किशोरीलाई उनकै साथीले ‘मलाई एक्लै डर लाग्छ । आज मसँगै सुत न’ भन्दै यही असार १७ गते छाउगोठमा सुत्न बोलाएको र राती ३ जना केटाहरु गोठमा प्रवेश गरी बलात्कार गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।
बलात्कारीले अर्की किशोरीलाई गोठबाट बाहिर राखेर उनकी साथीलाई गोठभित्र पालैपालो बलात्कार गरेको पनि प्रहरीले बताएको छ ।
बलात्कृत किशोरी र आरोपित चारैजना मिल्ने साथी भएको पनि खुलेको प्रहरीको भनाइ छ ।