भदौ ११,काठमाडौं । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले संघीयताले नै जनताको अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको जानकारी दिएकी छन्।
पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरे। उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताए।
‘सर्वसम्मत भनेको सहमति र समझदारी हो’, उनले भने, ‘सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन।’
प्रदेश अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट एक हजार चार प्रतिनिधिको चयन भइसकेको एमालेले बताएको छ। अधिवेशनमा महिला ३३ प्रतिशत पुर्याउने प्रयासमा रहेको बताउँदै उनले उत्पिडित, महिला, युवाको फरकफरक कलस्टर बनाएर प्रतिनिधि छनोट भएको बताए।
एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ। अधिवेशनका पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए।