साउन ६, काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमालेका सांसद खगराज अधिकारीले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने अडान दोहोर्याएका हुन् ।
‘यसअघिको संसदीय समितिमा विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत दिने भन्ने सहमतिलाई आधार मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्नेमा सांसद अधिकारीले जोड दिएका छन् । अन्यथा मुलुक फिजीकरणको दिशातर्फ जाने उनको तर्क छ ।
यसअघि संसदमा पेस गरेको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक पेस गरेपछि प्रतिनिधिसभाको जारी बैठकमा फास्ट ट्रयाकबाट पारित गराउन प्रयास भएपछि अधिकारीलगायतले आपत्ति जनाएका छन् । नागरिकताजस्तो संवेदनशील विषय ‘फास्ट ट्रयाक’ पारित गर्न नहुने भन्दै संसदीय समितिमा पुनः पठाउनुपर्ने अधिकारीको माग छ ।