साउन २१, काठमाडौं । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा नेपालका आदिवासी जनजाति महिलाहरूले परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा असर पर्ने भन्दै असहति जनाएका छन् । २८औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने सन्दर्भ आदिवासी महिलाको विरुद्ध रहेको बताएका छन् ।
आदिवासी महिलाको परम्परागत ज्ञान र आर्थिक व्यवस्थामा खलल पुग्ने तर लोकल रक्सीलाई ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा हुने भन्दै उनीहरूले विमति जनाएका हुन् । आदिवासी जनजाति महिलालाई नै स्वतन्त्र र निर्वाधपूर्ण लोकल रक्सी उत्पादन गर्न दिनुपर्ने उनीहरूको माग रहेको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले कार्यक्रममा बोल्दै लोकल रक्सी उत्पादन गर्ने परम्परागत ज्ञानको मुख्य हकदार आदिवासी जनजाति महिला रहेको बताउँदै ब्राण्डिङ गर्ने प्रयासले अधिकार खोस्ने बताए । यदि, ब्राण्डिङ नै गर्ने हो भने त्यसको प्याटेन्ट राइट्स (प्रतिलिपि अधिकार) आदिवासी महिलामा हुनुपर्ने उनको भनाइ रहेको छ । अध्यक्ष लामाले भने, लोकल रक्सी उत्पादन गर्ने ज्ञान आदिवासी महिलाको परम्परागत ज्ञान हो, सीप हो । यसको प्याटेन्ट राइट्स आदिवासी महिलासँग मात्र हुन्छ । यो अरूको हुन सक्दैन ।’
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका संस्थापक अध्यक्ष स्टेला लामाले बौद्धिक सम्पत्ति संरक्षणको नाममा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञानमाथि हस्तक्षेप गर्ने नीति अघि सारिएको आरोप लगाए । परम्परागत ज्ञानबाट उत्पादित रक्सीलाई राज्यले प्रतिबन्ध लगाउने भन्दा पनि संरक्षण गर्नुपर्ने उनको भनाइ रहेको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शान्ति देवानले लोकल रक्सी उत्पादन आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र अर्थव्यवस्था रहेको बताउँदै उक्त ज्ञानको राज्यपक्षबाटै संरक्षण र प्रवर्द्धन हुनुपर्नेमा जोड दिए । महासचिव देवानले भने– ‘आदिवासी जनजाति समुदायमा रक्सी उत्पादन परम्परागत ज्ञान र अर्थव्यवस्था हो । त्यसबाट नै आदिवासी जनजातिको परिवार चलेको छ । त्यसैले यो ज्ञानको संरक्षण राज्य नै गर्नुपर्छ ।’
विश्व आदिवासी दिवसका लागि हरेक वर्ष फरक–फरक नारा तय हुन्छ । यस वर्षको मूल नारा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ रहेको छ ।