भदौ ११,काठमाडौं । लोप उन्मुख राउटे बस्तीमा दुई बर्ष पछि छोरीको जन्म भएको छ ।राउटे युवा हीराँिसह शाही र बाङगे शाही दम्पतीको गत साता छोरी जन्मेको छ । यो दम्पतीले छोरीको नाम बालकुमारी शाही राखेको छ । दैलेखको महाबु गाँउपालिका - ३ बान्ताडासामा बसोबास गरिरहेको राउटे बस्तीमा शिशुको जन्मसँगै खुसीयाली छाएको छ ।
राउटे नेपालको एकमात्र अन्तिम भ्रमणशील जाती हो । नेपालको सम्पदा र गहनाको रुपमा चिनिने राउटे समुदायको अस्तित्व भने संकटमा छ । अत्यधिक मदिरा सेवन, पोषणयुक्त खानाको कमिजस्ता कारणले उनीहरुको अस्तित्व खतरामा परेको छ ।मदिरा सेवन राउटे समुदायको मौलिक विशेषता हो ।
मदिराको सेवन उच्च हुँदा शिशु नजन्मिनु र युवादेखि वृद्ववृद्वासम्मको ज्यान गुमाइ रहेका उनीहरुको जनसंख्या बर्सेनी घट्दो क्रममा छ । परियोजनाका जोडी शिक्षकको रुपमा कार्यरत लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर नबजात शिशुको हेरचाह नगर्दा शिशुहरु जन्मिएको एक हप्ता भित्र ज्यान गुमाउने गरेको बताए ।