पुष ४, धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा मोबाइल लुट्नका लागि दुई जना किशोरले दम्पतीको हत्या गरेको खुलासा भएको छ । मंसिर २६ बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए ।
बिहान मृत अवस्थामा भेटिएका दम्पतीको दुईजना किशोर मिलेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिप्रका धादिङका डीएसपी श्याम बहादुर खत्रीले बताए ।
हत्यामा संलग्न आरोपमा प्रहरीले त्रिपुरासुन्दरी–३ घर भएका १५ र १३ वर्षका किशोरलाई पक्राउ गरेको हो । हत्याबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोका इन्स्पेक्टर सुरेश खत्रीको टिम धादिङ गएको थियो ।
मंसिर २४ मा राति साढे ८ बजे दम्पतीको घरमा गएर वृद्ध दम्पतीलाई बन्चरो प्रयोग गरेर हत्या गरेपछि मोबाइल लिएर भागेको आरोपीहरुले प्रहरीसँग स्वीकारेका छन् । पुस १ मा पक्राउ गरिएका किशोरहरुलाई अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले न्यायिक हिरासतमा राखेको छ । यस्तै हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।