जेठ १८, काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमा नै आक्रमण प्रयास भएको छ । गौशाला वडा न. २ निगौलस्थित निर्माणाधिन धर्मशालाको बिषयमा न्यायिक छलफल भइरहेको वेला उपमेयर रेणुकुमारी महतोमाथि कार्यकक्षमा नै आक्रमण प्रयास भएको हो ।
धर्मशाला निर्माण भइरहेको वेला नगरभित्रै रामजानकी कुटीको हेरचाह गर्दै आएका जोगिन्द्र ठाकुरले निजी जग्गा भएको भन्दै दावी गरेपछि न्यायिक समितिकी संयोजक समेत रहेकी उपमेयर महतोले सरोकारवालाहरुलाइ बोलाएर मंगलवार बेलुका छलफललाई अगाडि बढाएकी थिइन् । छ्लफल कै क्रममा वडा न.२ का वडा अध्यक्ष श्यामसुन्दर मण्डलले तथानाम गाली गर्दै उपमेयरलाइ नै हातपात प्रयास गरेको आरोप लागेको छ ।
श्यामसुन्दर मण्डलले बिषयवस्तुलाइ बिषयान्तर गरि सुनियोजित ढंगले आक्रमण प्रयास गरे, उपमेयर महतोले भनिन् । उनका अनुसार उपमेयरका सहयोगी तथा श्रीमान दिपेन्द्र महतोलाई विवादकै क्रममा अध्यक्ष मण्डलले धक्कामुक्का गर्दा सामान्य घाइते हुन पुगेका छन् । उनको हातमा सामान्य चोट लागेको छ भने ज्यान मार्ने धम्की समेत दिएको महतोले जानकारी दिइन् ।
अध्यक्ष मण्डलले उपमेयर महतोलाई समेत धम्की दिएको प्रत्यक्षदर्शीले बताए । घटनास्थललाई नजिक रहेका स्थानीय बलराम सापकोटाका अनुसार उपमेयरको कार्यकक्षमा अमर्यादित गाली बेइज्जतीका काम गरियो ।