असार २०, सिन्धुली । बालिकालाई विवाह गरी बलात्कार गरेको ठहर गर्दै सिन्धुली अदालतले श्याम कुमार दमाईलाई ८ वर्ष तीन महिना कैद सजायको फैसला गरेको छ ।
चौध वर्षीया बालिका विवाह गरी बलात्कार गरेको भन्दै जिल्ला अदालतको मंगलबारको फैसलाले मरिण गाउँपालिका वडा नं.५ चौकीटारका २५ वर्षीय श्याम कुमार दमाईलाई यस्तो कैद सजाय सुनाएको हो ।
दमाईले बालविवाह गरेवापत ३ महिना कैद तथा १ हजार जरिवाना र बलात्कार गरेकोमा ८ वर्ष कैद फैसलाका साथै ५ हजार क्षतिपूर्तिको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीस पूर्णेश्वर प्रसाद उपाध्यायको एकल इजलासले उक्त फैसला गरेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दमाईकी जेठी श्रीमती २३ वर्षीया शान्ती दर्जीले २०७४ फागुन २५ गते श्रीमानले अर्को विवाह गरेको भनि उजुरी दिएपछि बालविवाह गरि बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको थियो ।
दमाईले बालिकालाई श्रीमती बनाएर घरमा भित्राएको र शारीरिक सम्बन्ध समेत राखेको खुल्न आएपछि उनलाई बालविवाह र बलात्कारमा मुद्दा चलाइएको थियो ।
दमाईले ती बालिकालाई २०७४ फागुन १५ गते विवाह गरि घरमा भित्राएपछि २ छोराछोरीसहित जेठी श्रीमतीलाई घरबाट निकाला गरेका थिए ।
जेठी श्रीमतीको उजुरीका आधारमा पीडक दमाईलाई प्रहरीले २०७४ फागुन २४ गते नै पक्राउ गरेको थियो ।