असार १९ ललितपुर । रोल्पामा बाढीले घर भत्किँदा सुत्केरी महिला, शिशुसहित ३ को मृत्यु भएको छ ।
रोल्पाको रुम्टीगढी गाउँपालिका वडा नम्बर ५ को सैवाङकी १८ दिनकी सुत्केरी कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र जेठाजुकी १५ वर्षीया छोरी चित्रा विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
१८ दिने शिशुको शव निकाल्दै स्थानीय । तस्बिर : पत्रकार सन्तोष शर्माको फेसबुक
प्रहरीका अनुसार आज बिहान साढे ९ बजे घरको भान्छा कोठामा आगो तापेर बसेको अवस्थामा घरमाथिको पर्खाल भत्केर भान्छाकोठा च्यापिदा तीनै जनाको ज्यान गएको हो ।
कमलाको घाईते अवस्थामा उद्धार गरी स्वास्थ्य केन्द्र रुम्टीगढी लैजानेक्रममा बाटोमा ज्यान गएको हो भने आयुषा र चित्राको मृत अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले महिला खबरलाई बताए ।
पर्खाल भत्कदाँ घरको अन्य भागमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
पहिरोले भत्किएको घर । तस्बिर : पत्रकार सन्तोष शर्माको फेसबुक