चैत ६ काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ।
ज्योति विकास बैंकको आर्थिक सहयोग र राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक सहयोगमा यो बर्थिङ एकाइमा बेबी वार्मर जडान गरिएको हो। यो उपकरणले नवजात शिशु जन्मँदा तापक्रमसम्बन्धी समस्या देखिएर अकालमा हुने मृत्युलाई रोक्न सहयोग गर्छ।
राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको नेतृत्वमा निर्माण भएको यो बेबी वार्मर विगत पाँच वर्षदेखि नवजात शिशुको तापक्रम नियन्त्रण गरी शिशु मृत्युदर घटाउने उद्देश्यले वितरण गरिँदै आएको छ।
श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले नवजात शिशुलाई सिताङ हुनबाट जोगाउन यो मेसिनले महत्वपूर्ण भूमिका खेल्ने बताए।