असोज ११, सुनसरी । आर्थिक अभावका कारण तिम्ल्याहा बच्चा जन्माएकी सुत्केरी महिला र बच्चाको बिजोग भएको छ । सुनसरी देवानगञ्जकी रुनादेवी ऋषिदेवको घरमा खाने कुरा, लगाउने कपडा समेत नहुँदा सुत्केरी र नवजात शिशुको बिजोग भएको हो ।
रुनादेवीले एक हप्ता अगाडि घरमै तीन जना बच्चा जन्माउनु भएको हो । सुरक्षित रुपमा अस्पतालमा जन्म नभएका कारण तीनमध्ये एक शिशुको ज्यान गएको छ ।
अहिले दुई शिशु र आमाको स्वास्थ्य अवस्था नाजुक रहेको छ । देवानगंज गाँउपालिकाका कार्यकारी अघिकृत शिव निरौलाका अनुसार गर्भवती अवस्थामा पनि रुनादेवीले स्वास्थ्य जाँच गराउनुभएको थिएन ।
अहिले २ शिशुको स्वास्थ्य अवस्था जटिल भएपनि उपचार गराउन अस्पताल लगेका छैनन् । तिम्ल्याहा बच्चा घरमै जन्मिएका जानकारी आएपछि देवानगंज गाउँपालिकाका कार्यकारी अधिकृत शिवकुमार निरौला स्थानीय स्वास्थ्यचौकीका अहेव सहित घरमै पुग्नुभयो उहाँले पाँच हजार रकम सहयोग समेत गर्नुभयो ।
दैनिक मजदुरी गरी जीविका गर्ने रुनादेवीको परिवारमा निरौलाले दिएका सहयोग रकम खानामै खर्च भएकोले शिशुलाई अस्पताल लगेका छैनन् । ३० वर्षीया रुनादेवीले चौथो सन्तानका रुपमा तीनजना वच्चालाई जन्म दिएकी हुन् । यसअघिनै दुई जना छोरी र एक जना छोरा छन् ।
रुनादेवीका श्रीमान सुरेश ऋषिदेव मजदुरी गर्छन् । खानेलाउने समस्या भएको ऋषिदेव परिवारमा रुनादेवी र बच्चाको उपचारका लागि सहयोगको आवश्यकता रहेको कार्यकारी अघिकृत निरौलाले बताउनुभयो । रुनादेवीको परिवारले पनि सहयोगको आग्रह गरेको छ।