भदौ २५,काठमाडौं । महिला अधिकारकर्मीहरुले घरेलु श्रमिक महिलाहरूको अदृश्य श्रमलाई दृश्य बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
आइतबार काठमाडौँमा घरेलु श्रमिकको अधिकार, पहिचान र सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरुले घरेलु महिला श्रमिकको आवाज बुलन्द बनाउनुपर्ने जानकारी दिए । उनीहरुले सबैभन्दा पहिला स्थानीय निकायमा घरेलु महिला श्रमीकहरुलाई सूचिकृत गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै तरङ्गिणी फाउण्डेशनकी मनोविमर्श कर्ता रुपा भट्टराईले घरेलु महिला श्रमिकको श्रम अदृश्य रहेको र त्यसलाई दृश्य बनाउने प्रयासमा आफूहरु लागेको जानकारी दिइन् ।
भट्टराईले काठमाडौँ महानगरभित्रका केही वडाका महिला घरेलु श्रमिकको तथ्यांकसमेत आफूहरुले जम्मा पारेको उल्लेख गर्दै स्थानीय निकायहरुले पनि यसमा सहयोग गर्ने हो भने तथ्यांक संकलन गर्न सहज हुने बताइन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले घरेलु महिलाको अदृश्य श्रमलाई दृश्य बनाउन आवश्यक रहेको बताइन् । उनले अदृश्य श्रमलाई दृश्य र पहिचानमा ल्याउन सम्भव रहेको जानकारी दिइन् ।