असार २२, ललितपुर । महिलालाई यौन शोषण गर्न लगाउने होटल मालिक र २ भारतीय नागरिक विरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता भएको छ ।
होटेलमा खाजा खान आएका महिलालाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा बुटवल उपमहानगरपालिका १० रामनगरमा रहेको ग्रिन गेष्ट हाउस एण्ड लजका सञ्चालक तारा पाण्डे र भारतीय नागरिक उजय दुवे, अम्लेस मिश्र विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको हो ।
यही असार २० गते बुधवार प्युठान र नवलपरासीबाट मजदुरीका लागि बुटवल पुगेका २ जना महिला सो होटेलमा खाजा खान जाँदा होटेल मालिक तारा पाण्डेले जबरजस्ती यौन शोषण गर्न लगाएको प्रहरीले जनाएको छ ।
भोक लागेर होटलमा पुगेका आफूहरुलाई यौन क्रियाकलापमा लगाएको भन्दै महिलाले प्रहरीलाई उजुरी दिएपछि तीनै जनालाई पक्राउ गरी बिहीबार मुद्दा दर्ता गरेको ईलाका प्रहरी कार्यालय वुटवलका प्रहरी नायव निरीक्षक बाबुराम पुरीले बताए ।