मंसिर ११, काठमाडौं ।गायिका तथा एमाले नेतृ कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । दीपा वलीको मङ्सिर २ गते काठमाडौँमा निधन भएको थियो ।
आमाको सम्झनामा दाङका छात्राहरूलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको कोमल वलीले बताइन् । अक्षय कोषबाट दाङ जिल्लाका थारु र दलित समुदायका छात्राहरूलाई पढ्न छात्रवृत्ति प्रदान गरिने कोमल वलीले बताइन् । ‘एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर कक्षा ८ बाट उच्च शिक्षासम्मका लागि अध्ययनमा सहज होस् भनेर सम्पूर्ण खर्च यो ट्रस्टले व्यहोर्ने छ,’ वलीले बताइन् ।
आमाले पढ्न पाउनु भएन,’ उनले भनिन्, ‘स्कुल जान नपाए पनि आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत थियो, छोरीहरूले पनि पढ्नु पर्छ भनेर हामीलाई सधैँ पढ्न हौसला प्रदान गर्नुहुन्थ्यो ।’ आमाले सबैका छोरी पढ्नुपर्छ भन्ने गरेको र उनको नाममा स्थापित यो कोषले आर्थिक अभावमा अध्ययनबाट वञ्चित छोरीहरूलाई सहयोग गर्ने विश्वास आफूले लिएको वलीले बताइन् ।साभार रातोपाटी