भदौ ११,काठमाडौं । दार्चुलामा चक्कु प्रहार गरी एकल वृद्धाको हत्या भएको छ। ८० वर्षीया भागरथी चन्दको मालिकार्जुन गाउँपालिका–७ टोपालि टोलकी घाँटी र छातीमा ८र१० स्थानमा चक्कु प्रहार गरेर हत्या गरिएको स्थानीय जानकारी दिएका छन्।
शनिबारदेखि महिला फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन समेत दिएका थिए। मृतकका छोरा चक्रबहादुर चन्द आइतबार महेन्द्रनगरबाट घर पुगेपछि जनप्रतिनिधि, प्रहरीले ताला तोडेर घरभित्र पसेका थिए। घरभित्र पनि उनलाई नभेटेपछि खोजी गर्दै गर्दा सोमबार बिहान ६:३० बजे उनलाई मृत अवस्थामा घर भन्दा एक सय मिटर पर अवस्थामा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घट्नास्थल जाँच मुचुल्का बनाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। शव ल्याउन बाँकी छ उनले भने, 'किटानी जाहेरी आएको छैन। जाहेरी कस्तो किसिमले आउँछ सोही अनुसार अघि बढ्छौँ । अहिलेसम्मको घटनास्थल हेर्दा हत्या भएको देखिन्छ।'