असार २६, ललितपुर । सुतिरहेकी छोरी जलाएको आरोपमा बुबा, हजुरआमा र फुपू विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ की १५ वर्षीया समिक्षा ठकुरीलाई जलाएर मारेको आरोपमा उनका बुबा तेजेन्द्र ठकुरी, हजुरआमा हरिकला ठकुरी, फुपू मधु र अम्बिका ठकुरीको नाममा आईतबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । समिक्षाका मामा बमबहादुर दर्लामीले चारै जना विरुद्ध मुद्दा दर्ता गराएका हुन् ।
प्रहरीका अनुसार यहि असार ९ गते राती ३ बजेको समयमा आफ्नै घरमा सुतिरहेको बेला आगोमा जल्दै गर्दा समिक्षा चिच्याएपछि छिमेकीले उद्धार गरी बिहानपख उपचारका लागी पाल्पाको सिटी अस्पताल पु¥याएका थिए ।
सिटी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौंको किर्तीपुरमा रहेको बर्न अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा असार २० गते बुधबार उनको ज्यान गएको थियो ।
ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले घटना रहस्यमय तरिकाले भएको देखिए पनि अनुसन्धान प्रक्रियामा रहेको हुँदा केहि भन्न नसकिने बताए ।
घटना भएको १३ दिनपछि इलाका प्रहरी कार्यालयमा चारै जनाको नाममा किटानी जाहेरी परेपछि आइतबार मात्रै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको डिएसपी मल्लले बताए । किटानी जाहेरी पश्चात मृतकका बुबा र हजुरआमालाई पक्राउ गरी अनुसन्धान थालेको उनको भनाइ छ ।
समिक्षाकी आमा माया थापाका अनुसार समिक्षा ९ महिनाकी छँदा उनका बुवा तेजेन्द्र ठकुरीले दोस्रो बिहे गरे । दोस्रो बिहेपछि तेजेन्द्रले आफूलाई रातदिन कुटपिट गर्न थालेपछि ९ महिनाकी छोरी बोकेर माइतीमा बस्न थालेको उनले बताइन् ।
छोरीकै लालनपालनका लागि उनलाई माइतीको जिम्मा लगाएर विदेशमा काम गर्दै आएकी माया छोरी जलाइएको चौथो दिन नेपाल पुगेकी छन् ।
माया बैदेशिक रोजगारमा हुँदा समिक्षाको लालनपालन उनको माईतीले गर्दै आएका थिए ।मायाका अनुसार कक्षा १ देखि १० सम्म मामा घरमै बसेर पढेकी समिक्षालाई गत वर्षको तिहारपछि उनका बुबा तेजेन्द्रले अब छोरीलाई आफै पाल्ने भन्दै आफ्नो घर लगेका थिए । तर घर लगेपछि हजुरआमा, फुपू र बुवाले कुटपिट गर्ने गरेको कुरा समिक्षाले बताउँदै आएको उनका मामाका छोरा बिनोद दर्लामीले बताए ।
यस्तै समिक्षाले बुझ्न थालेदेखि नै आफूलाई म तपाईको हक दिलाएरै छोड्छु भन्दै आएको मायाले बताइन् । उनका अनुसार मेरो आमालाई किन दुख दिएको भन्दै समिक्षाले बुबा र हजुरआमासँग आफ्नो र आमाको हकका लागि अब म लड्छु भन्दै आएकी थिइन् ।
समिक्षाले कानुनी अधिकारको लागि आवाज उठाउँछिन् र उनलाई अंशसहित लालनपालन र अध्ययनमा खर्च गर्नुपर्छ भन्ने डरले उनको हत्या गरिएको आरोप माया र उनका माइती पक्षको छ ।
समिक्षाका मामा र आमाले दोषीलाई पक्राउ गरी कडा सजायको व्यवस्था नगरेसम्म शब नबुझ्ने अडान राखेपछि समिक्षाको शब शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
महिला खबरमा प्रकाशित समाचार