असार २२, कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–९ दुर्गौलीका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हिरा ओलीका अनुसार इन्द्रबहादुरले मदिरा सेवन गरी ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई बिहीबार बिहान हत्या गरेका हुन् ।
राती दुवै जनाले मदिरा सेवन गरी विवाद हुँदा आफूले कुटपिट गरेको र बिहान हत्या गरेको कुरा इन्द्रबहादुरले प्रहरीसँग स्वीकार गरेको प्रहरीले जनाएको छ ।
मृतकको टाउको लगायत शरीरका विभिन्न भागमा घाउ चोट देखिएको डीएसपी ओलीले बताए । घटनालगत्तै लम्की प्रहरीले इन्द्रबहादुरलाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमको लागि टीकापुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।