भखौ ४, म्याग्दी । यहाँको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पीडित पारमाया पाइजाको उपचारमा अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाइजाले रु दुई लाख २८ बढी सहयोग जुटाएका छन् ।
अमेरिकामा रेस्टुराँ सञ्चालन गरेका पाखापानी औलका पाइजाको पहलमा उपचारमा आर्थिक अभाव झेलेकी पारमायाको उपचारमा रु दुई लाख २८ हजार ४५ सहयोग जुटाइएको हो ।
त्यहाँ रहेका म्याग्देली तथा नेपालीबाट संकलन भएको सो सहयोग रकम उहाँका बुबा गोरे पाइजामार्फत पीडित पारमायालाई अस्पतालमै हस्तान्तरण गरिएको छ । उपचारमा आर्थिक अभाव भएपछि जीवनरक्षाका लागि अस्पतालकै श्ययाबाट सहयोगको याचना गरेको सम्बन्धमा राससमार्फत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि आफूले अमेरिकामा रहेका सहयोगदाताबाट सहयोग संकलन गरेको अभियानकर्ता श्रीप्रसाद पाइजाले बताए ।
आन्द्राको क्यान्सरबाट पीडित भई भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत पाइजाले आफ्नो उपचार खर्च जुटाउन घरपरिवारलाई कठिनाइ आइपरेपछि सहयोगको याचना गरेका थिए ।
विगत एक महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत पाइजाको आन्द्रामा घाउ भएर क्यान्सर भएको पुष्टि भए पनि आर्थिक अभावले उपचार प्रभावित भइरहेको अवस्थामा अमेरिकाबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको भन्दै सहयोग दातालाई पीडित पारमायाका पति श्रीमान् पाइजाले धन्यवाद ज्ञापन गरेका छन् । खाना खाएपछि बान्ता हुने समस्या बढेपछि विभिन्न अस्पताल हुँदै पारमायालाई गत असारमा भक्तपुर क्यान्सर अस्पतालमा पुर्याइएको थियो ।
दुई वर्षदेखि सो समस्याबाट पीडित भए पनि पोखराका विभिन्न अस्पतालमा उपचार गर्दा अहिलेसम्म झण्डै रु साढे पाँच लाख खर्च भएको घरपरिवारको भनाइ छ । कृषि पेशाबाट जीविकोपार्जन गर्दै आएका पाइजा परिवारले अहिलेसम्म कतिपय खर्च ऋण र सापटसमेत गरेर जुटाएका छन् । आन्द्रामा भएको क्यान्सरको शल्यक्रियामार्फत उपचार गर्नुपर्ने भएकाले थप लाखौँ खर्च लाग्ने भएपछि उनीहरुले सबै क्षेत्रबाट सहयोगको याचना गरेका छन् । रासस