कार्तिक २६,काठमाडौं ।आज तिहारको दिन बिहान कुकुरलाई पूजी फूलमाला लगाई मिठो परिकार दिइ मनाइदै छ।तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ।
आज सबै हिन्दुधर्मावलीका घरमा घरसफासुघर लिपपोत गरी बेलुका दीपावली गरी धनधान्यकी देवी लक्ष्मीको पूजा गरीन्छ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा र बत्तिले झिलीमिली नपारीएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता छ।
लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन्।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।