भदौ ५ , काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयलाई लिएर सिंहदरबारमा आयोजित छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका जनप्रतिनिधिबीच चर्काचर्की भएको छ।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाको पहलमा काठमाडौं उपत्यका तथा बञ्चरेडाँडा प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई सहभागी गराएर छलफल आयोजना गरिएको थियो। बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीयवासीका समस्या तथा समाधानका उपायबारे छलफल भइरहेका बेला वातावरण तनावपूर्ण बनेको हो।
छलफलका क्रममा सांसद तामाङ र केही स्थानीय तहका प्रमुखबीच भनाभन भएको थियो। स्थिति चर्किएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतले उनलाई शान्त पार्ने प्रयास गरेका थिए।
मेयर महर्जनले सांसद तामाङलाई, ‘त्यतिकै बेस्सरी कराएर हुन्छ रु मेयरसाबलाई कराएर हुन्छ रु’ भन्दै प्रश्न गरेका थिए।
त्यसको प्रतिउत्तरमा तामाङले, ‘आउनु पर्यो नि,’ भनेकी थिइन्।
महर्जनले ‘आउँदै हुनुहुन्छ त’ भन्दै जवाफ फर्काएपछि तामाङले पुनः ‘बञ्चरेडाँडाका मान्छे होइन रु’ भन्दै प्रश्न गरेकी थिइन्।
सांसद तामाङले बञ्चरेडाँडाका स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आए पनि स्थानीय सरकार जिम्मेवार नदेखिएको आरोप लगाइन्। उनले स्थानीय सरकार समस्या समाधानमा गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन्।
छलफलबाट सन्तुष्ट नभएकी तामाङले भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी समेत दिइन्। त्यसपछि उनी बैठक छाडेर बाहिरिएकी थिइन्।
बञ्चरेडाँडा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनसँग जोडिएको संवेदनशील क्षेत्रका रूपमा लामो समयदेखि विवादमा रहँदै आएको छ। स्थानीयवासीले वातावरणीय असर, दुर्गन्ध, स्वास्थ्य जोखिम तथा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै पटक–पटक असन्तुष्टि जनाउँदै आएका छन्।
शुक्रबारको छलफलमा देखिएको विवादले बञ्चरेडाँडाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या अझै समाधानउन्मुख हुन नसकेको र स्थानीय तह, संघीय सरकार तथा प्रभावित क्षेत्रबीच समन्वयको चुनौती कायमै रहेको संकेत गरेको छ।