साउन १९ , काठमाडौं । भारतको तमिलनाडु राज्यका प्रतिपक्षी नेता तथा डीएमकेका प्रभावशाली नेता उदयनिधि स्टालिनलाई अभिनेत्री तृषाविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध छवटा धाराअन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ।
गिरफ्तारीबाट जोगिन स्टालिनले मद्रास उच्च अदालतमा अग्रिम जमानतको निवेदन दिएका थिए। तर, निवेदनमाथि सुनुवाइ हुनुअघि नै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार तन्जाभुरमा कावेरी जल विवादबारे आयोजित एक र्यालीमा स्टालिनले मुख्यमन्त्री सी। जोसेफ विजयलाई लक्षित गर्दै सम्बोधन गरिरहेका बेला भीडबाट ‘तृषा’ भन्दै नारा लागेको थियो। त्यसको जवाफमा उनले दिएको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको हो।
स्टालिनमाथि लगाइएको आरोपअनुसार उनको भनाइ दोहोरो अर्थ लाग्ने र महिलामाथि अपमानजनक रहेको भन्दै विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। विवाद चर्किएपछि प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गर्दै पक्राउ गरेको हो।
यद्यपि स्टालिनले आफ्नो भनाइको बचाउ गर्दै आफूले कावेरी नदीको पानीतर्फ संकेत गरेको स्पष्टिकरण दिएका छन्।
उल्लेखनीय छ कि तमिलनाडुका वर्तमान मुख्यमन्त्री सी। जोसेफ विजय राजनीति प्रवेश गर्नुअघि चर्चित अभिनेता थिए।