माघ ७, काठमाडौं। चन्द्रागिरि नगरपालिका– १० स्थित विशेश्वर बचत तथा ऋण सहकारीको झन्डै साढे १४ करोड ठगीमा श्रीमान्–श्रीमती नै संलग्न रहेको खुलेको छ । ठगीमा संलग्न चन्द्रागिरिकी मीना महर्जन र उनका श्रीमान् रविनाथ महर्जन हुन् ।
जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको छ । मीना सहकारीकी अध्यक्ष हुन् भने रविनाथ व्यवस्थापक हुन् । अहिले दुवै फरार छन् । उनीहरूविरुद्ध ९३ बचतकर्ताको १४ करोड ३१ लाख ९१ हजार २३८ रुपैयाँ ठगी गरेको अभियोग छ । घटनाको अनुसन्धान प्रहरी वृत्त थानकोटले गरेको थियो । प्रहरीले सहकारीकी सचिव प्रभा महर्जनलाई भने पक्राउ गरेको छ । प्रभा रविनाथकी बहिनी हुन् ।
प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक किरण सापकोटाले सहकारी ठगी कसुर अनुसन्धानपछि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरिएको बताए । ‘विशेश्वर सहकारी ठगी अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस भएको छ । १४ करोड रुपैयाँभन्दा धेरै रकम ठगी भएको खुलेको छ,’ उनले भने ।
प्रतिवेदनअनुसार उपाध्यक्ष रमेश्वर जिसी, कोषाध्यक्ष बल्लभ महर्जन, सदस्यहरू नसवि महर्जन, टंकनारायण श्रेष्ठ र समीप महर्जनलाई पनि प्रतिवादी बनाइएको छ । प्रहरीका अनुसार उनीहरूले कबुलबमोजिमको ब्याज नदिएपछि बचतकर्ता रकम फिर्ताका लागि सहकारी कार्यालय पुगेका थिए । साँवा रकमसमेत फिर्ता हुने अवस्था नभएपछि उनीहरूले ठगिएको भेउ पाएका थिए ।