भदौ ३१, काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेकी छिन् । संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् ।
राष्ट्रियसभा बैठकमा शुक्रबार विशेष समय लिएर बोल्दै सांसद पन्तले जनतामा सुशासनको प्रत्याभूति दिलाउन पनि महिलाहरुको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागिता बढाउन आवश्यक रहेको बताएकी छिन्। महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै निर्वाचनका लागि उम्मेदवार छनौट गर्न सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराएकी हुन् ।
संविधान अनुसार आगामी निर्वाचनमा महिलाहरुको सहभागिता बढाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि पन्तले आग्रह गरिन्।
आउदै गररको दशैं–तिहारजस्ता चाडबार्डमा सर्वसाधारणका लागि सुलभ र सस्तो बजारको व्यवस्था गर्न सांसद पन्तले सरकारसँग माग गरेकी छिन् ।