web image
साउन २४ ,काठमाडौं । अमेरिकाकी पूर्व प्रथम महिला जिल बाइडेनले आफ्नो जीवनकालमै महिला राष्ट्रपति देख्न नसक्ने आशंका व्यक्त गरेकी छन्। एक अन्तर्वार्तामा बोल्दै उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन्।
७५ वर्षको उमेर उल्लेख गर्दै उनले आफूले महिला राष्ट्रपति देख्ने सम्भावना कम भएको महसुस गरेको बताइन्। तथापि, भविष्यमा यस्तो सम्भावना पूर्ण रूपमा समाप्त नभएको संकेत पनि उनले दिइन्।
सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा उनले कमला ह्यारिसप्रति ठूलो आशा राखेकी थिइन्। चुनावी अभियानका क्रममा देखिएको जनसमर्थनले आफू उत्साहित बनेको उनले बताइन्। तर ह्यारिसको पराजयले आफूलाई आश्चर्यमा पारेको उनको भनाइ छ।
यस अभिव्यक्तिपछि अमेरिकामा महिला नेतृत्वको भविष्यबारे बहस चर्किएको छ। केही नेताहरूले अमेरिका अझै महिला राष्ट्रपति स्वीकार गर्न पूर्ण रूपमा तयार नभएको धारणा राखेका छन् भने अन्य नेताहरूले त्यसलाई अस्वीकार गर्दै महिला नेतृत्वको सम्भावना बलियो रहेको बताएका छन्।
हालै अलेक्जान्द्रिया ओकासियो–कोर्टेज र ग्रेचेन ह्विटमर जस्ता महिला नेतृहरू भविष्यका सम्भावित राष्ट्रपति उम्मेदवारका रूपमा चर्चामा छन्।
महिला नेतृत्व, समान अवसर र अमेरिकी राजनीतिक संरचनामा लैङ्गिक प्रतिनिधित्वको विषयमा बहस अझै जारी रहने देखिएको छ।
Share this with your friends: