पुस २४, ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले छाउगोठ मुक्त नेपाल बनाउने गरि सरकारले छिट्टै मर्यादित महिनावारी सम्बन्धि नीति ल्याउने योजना रहेको बताउँदै ‘छाउगोठ मुक्त नेपाल’ बनाउने घोषणा गरेका छन् ।
मन्त्री गुरुङले मंगलबार काठमाडौंमा आयोजित छाउगोठ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छाउगोठ मुक्त नेपाल बनाउन आवश्यक सुझाव दिन पनि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरूलाई आग्रह गरेका छन् ।
‘सामाजिक कुरीतिको रुपमा रहेको छाउगोठ उन्मुलन हुने गरि सरकारले छिट्टै आवश्यक नीति ल्याउनेछ, “मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सबै खालको सुझाव दिन म सम्बन्धित जिल्लाका सांसद, सरोकारवाला निकाय सबैलाई आग्रह गर्दछु ।’ मन्त्री गुरुङले महिनावारी सम्बन्धि नीति छिट्टै ल्याउने गरि सरकारले तत्काल कार्य दल गठन गर्न लागेको पनि जानकारी दिए।
कार्यक्रममा बोल्दै संघीय संसदको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले सामाजिक कुरीतिको रुपमा रहेको छाउगोठ अन्त्य गर्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने आवश्यक्ता औंल्याइन् ।