साउन ११, काठमाडौं । आज २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण लाग्ने भएको छ ।
नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा पूर्ण चन्द्र ग्रहणको सुरुआत सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ ।
विज्ञानका अनुसार पृथ्वीले सूर्यको परिक्रमा गर्दा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा आउदा पर्ने छायाँलाईनै चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहणको बेला चन्द्रमा रातो रंगको देखिने छ, जसलाई ‘ब्लड मुन’ पनि भनिन्छ ।
धार्मिक मान्यता अनुसार नेपालमा चन्द्र ग्रहणलाई लिएर केही मान्यता प्रचलित छन् जसलाई अशुभ पनि भनिन्छ । ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । गर्भवती महिलाहरुलाई पनि यसबेला सजग रहन भन्ने गरिन्छ ।
यसपटक चन्द्र ग्रहणको बेला चन्द्रमा पृथ्वीको केन्द्र भागबाट उत्तरतिर हुँदै जानेछ । यो स्थिति एक घण्टा दुई मिनेटसम्म रहनेछ । त्यसैले यसपटक चन्द्र ग्रहण लामो हुने छ । साथै यसपटक ल्यूनर एपोजी पृथ्वी र चन्द्रमाको दुरी सबैभन्दा टाढा हुनेछ । यही कारण यो चन्द्र ग्रहण २१ औं शताब्दीकै सबैभन्दा लामो हुनेछ ।
ग्रहणको बेला चन्द्रमा रातो रंगको हुने छ । यसो हुनुको कारण के हो भने जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ तब सूर्यको किरण छेकिन्छ र पृथ्वीको वातावरणको प्रभावको कारण चन्द्रमा रातो रंगको देखिन्छ । वैज्ञानिकहरुले यसलाई ‘ब्लड मुन’ भन्दछन् ।
ज्योतिष विज्ञानका अनुसार शुक्रबार ग्रहण सुरु हुनुभन्दा पहिले दिउँसो ३ बजेर ९ मिनेटदेखि शनिबार बिहानपख ४ बजेर ४ मिनेटसम्मको समयलाई सूतक मानिएको छ । ज्योतिषहरुले ग्रहण लागेको बेला धेरै शारीरिक र मानसिक कार्य नगर्न सल्लाह दिन्छन् । सनातनी परम्परामा देवदर्शन र यज्ञ लगायतका धार्मिक कार्य गरिदैन । यस्तो अवस्थामा भजनकीर्तन गर्न सल्लाह दिइन्छ । सूतकको समयमा भोजन गर्न र पानी पिउन समेत नहुने बताइन्छ । सूर्योदयपछि सूतक समाप्त हुनेछ ।
ग्रहण लाग्नुभन्दा अगाडि खाने र पिउने कुराहरुमा तुलसीका केही पातहरु राख्ने चलन छ । साथै ग्रहणपछि भाँडाहरुमा राखिएको पानी बदल्नुपर्ने मान्यता छ । तर तामाका भाँडामा राखिएको पानीमा कुश वा तुलसीको पात राखेमा ग्रहणको प्रभाव नपर्ने धार्मिक विश्वास छ ।
खगोलविज्ञान र ज्योतिष विज्ञान दुवैमा चन्द्र ग्रहणको एक खास कारण छ । यद्यपि ग्रहणको विषयमा धेरै प्रकारका मिथक पनि प्रचलित छ ।
धेरै जनालाई अझै पनि चन्द्र ग्रहण नांगो आँखाले हेर्दा आँखा बिग्रिने डर हुन्छ । तर मिड नर्थ कोस्ट एस्ट्रोनोमीका डेभिड रेनेकाका अनुसार यसलाई नांगो आँखाले हेर्न सकिने छ । उनी भन्छन्, ‘नांगो आँखाले हेर्दा पनि सुरक्षित हुन्छ । यो ज्यादै सुन्दर खगोलिय घटना हो, यसलाई अवलोकन गर्ने अवसर कुनै हालतमा गुमाउनु हुँदैन ।’