web image
साउन २१ , काठमाडौं । नेपाली काँग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग माग गर्नुभएको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले कार्यक्रम कार्यान्वयनमा देखिएको कमजोरीप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो।
सांसद देवकोटाले पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउँदा पहलकर्ताको प्रशंसा हुने डरले कार्यक्रम नै कमजोर पारिएको त होइन भन्ने प्रश्न उठाउनुभयो।
उहाँका अनुसार स्वास्थ्य बीमा कार्ड लिएर उपचारका लागि अस्पताल पुगेका बिरामीले सेवा नपाएको गुनासो बढ्दो छ भने अस्पतालहरूले पनि भुक्तानी नपाएको भन्दै सेवा दिन आनाकानी गरिरहेका छन्।
संसद्मा बोल्दै उहाँले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै “बीमा छ तर सेवा छैन, आश्वासन छ तर उपचार छैन” भन्ने अवस्था सिर्जना भएको बताउनुभयो। उहाँले सरकारलाई भाषणभन्दा सेवा, प्रचारभन्दा औषधि र प्रतिवेदनभन्दा परिणाम दिन आग्रह गर्नुभयो।
देवकोटाले यो विषय नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम तुरुन्त कार्यान्वयन गर्न सभाका अध्यक्षमार्फत रुलिङ गरिनुपर्ने माग समेत गर्नुभएको छ।
Share this with your friends: