साउन १४ , काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १०० दिने सुधार अभियानअन्तर्गत सबै सेवा डिजिटल माध्यमबाट प्रदान गर्ने तयारी अघि बढाएको छ।
मन्त्रालयले सेवा प्रवाहलाई सहज, छिटो र पारदर्शी बनाउन डिजिटल प्रणाली लागू गर्ने लक्ष्य लिएको जनाएको छ। यसअन्तर्गत उद्योग दर्ता, नवीकरण, अनुमति तथा अन्य प्रशासनिक प्रक्रियालाई अनलाइनमार्फत सञ्चालन गर्ने योजना रहेको छ।
अधिकारीहरूका अनुसार हालसम्म कागजी प्रक्रिया र ढिलासुस्तीका कारण सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको अवस्था अन्त्य गर्ने उद्देश्यले डिजिटल रूपान्तरणमा जोड दिइएको हो। यसले समय बचत गर्नुका साथै भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
मन्त्रालयले आवश्यक पूर्वाधार विकास, प्राविधिक जनशक्ति व्यवस्थापन र प्रणाली परीक्षणलाई तीव्र बनाएको जनाएको छ। साथै, सेवाग्राहीलाई डिजिटल प्रणाली प्रयोग गर्न सहज बनाउन जनचेतना अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गरिनेछ।
सरकारको १०० दिने प्राथमिकतामा समावेश यस अभियानले औद्योगिक वातावरण सुधार, लगानी प्रवर्द्धन र निजी क्षेत्रको विश्वास बढाउने अपेक्षा गरिएको छ।