पुस २२, लितपुर । नेपालीमा एउटा भनाइ छ, ‘श्रीमती श्रीमान्को गरिबीमा चिनिन्छे । श्रीमान् श्रीमती बिरामी भएको बेला ।’ तर एउटा यस्तो निर्दयी श्रीमान् जो बिरामी होइन, आफ्नै सन्तानकी आमा हुन लागेकी श्रीमतीलाई सुत्केरी व्यथाले छट्पटाउदै गर्दा एक्लै छोडेर सम्पर्कविहीन हुन्छन् ।
पहाडको सिर सिर बतास् । पुसको कठ्यांग्रिने चिसो । त्यसैमाथि लगातार हिमपात भइरहेको बेला सुत्केरी व्यथाले छट्पटाउदै गरेकी श्रीमतीलाई अलपत्र छाडेर भाग्ने श्रीमान् हुन्, – बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँका अम्मर बिष्ट । जसले सुत्केरी व्यथाजस्तो जटिल अवस्थामा श्रीमतीलाई अस्पताल लैजानुको सट्टा अलपत्र मात्रै छाडेनन्, उनीसंग भएको एक हजार रुपैयाँसमेत चोरेर लगे ।
सुत्केरी व्यथा लागेर हिउँमाथि छट्पटाउदै गरेकी कुमारी बिष्टलाई बैतडी प्रहरीले यही शनिबार उद्दार गरेर प्रसूति केन्द्र पु¥याएपछि घटना सार्वजनिक भएको हो । बिष्टले प्रसूति केन्द्रमा हिजो आईतबार बिहान ६ः०० बजे छोरो जन्माएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले शनिबार दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा रोईरहेको अवस्थामा कुमारीलाई रुँदै, तड्पिदै गरेको अवस्थामा फेला पारेको जनाएको छ । सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमती छोडेर हिँड्ने श्रीमान अम्मर बिष्टको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
प्रनाउ पाण्डेयका अनुसार सुत्केरी हुन श्रीमान्को साथमा बैतडी अस्पताल आएकी कुमारी बिष्टलाई अस्पतालले १९ गते रेफर गरेको रहेछ । रेफर गरिएकी श्रीमतीलाई छोडेर एकहजार रुपियाँसमेत लगेर अम्मर फरार भएका हुन् ।
श्रीमान् सम्पर्कविहीन भएपछि सुत्केरी व्यथा लागेकी कुमारी बसमा चढेर दोगडाकेदारको सिल्लेगडा पुगिन् । जहाँ हिमपात पनि भईरहेको थियो ।
सुत्केरी महिला बजारमा छट्पटाउँदै रोईरहेको खबर आएपछि स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज शंकरदत्त भट्टको कमाण्डमा तुरुन्तै चार जना प्रहरी खटाएर सुत्केरीको उद्धार गरिएको गरिएको प्रनाउ पाण्डेले बताए ।
प्राप्त जानकारी अनुसार कुमारी बिष्ट पहिलो पटक आमा भएकी हुन् । उनका श्रीमान् अम्मर बिष्ट यसअघि दार्चुलामा ज्यालामजदुरीको काम गर्ने गरेको सूचना प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
सुत्केरीपछि कुमारीलाई प्रहरी र स्थानीय बजारवासीले न्यानो लुगा उपलब्ध गराएका छन् । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
महिला खबरमा प्रकाशित खबर