असार २८, महोत्तरी । सार्वजनिक धारामा पानी थापेकै निहुँमा दलित समुदायका आमाछोरी कुटपिट गर्नेलाई अदालतले ६ महिना कैद र १० हजार जरिवानाको फैसला सुनाएको छ ।
२०७५ वैशाख १५ गते महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ४ मा रहेको सार्वजनिक धारामा पानी थाप्न गएकी ३६ वर्षीया बुद्धमाया बिश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषालाई कुटपिट गर्नेलाई महोत्तरी जिल्ला अदालतले जेल र जरिवाना सजाय सुनाएको हो ।
न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले जातीय भेदभाव तथा कसुरमा दोषी ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना कैद, १० हजार जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
अर्की अभियुक्त नाबालक भएकाले पुरा सजायको आधा अर्थात ३ महिना कैद सजाय सुनाइएको छ । तर, १६ वर्ष उमेर नपुगेकाले एक वर्षभित्र यस्तै कसुर गरेमा यो समेत गाभेर कार्यान्वयन गर्ने गरी बालबालिका सम्वन्धी ऐनको दफा ५ को २० अनुसार सजाय स्थगनको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार रामानन्द अधिकारीले जानकारी दिएका छन् ।
अदालतले उनलाई सुनाएको ५ हजार जरिवाना अभिभावकबाट उसुल्न आदेश दिएको पनि श्रेस्तेदार अधिकारीले बताएका छन् ।