भदौ २४, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संघीय संसद् सचिवालय परिसरमा जेनजी आन्दोलनका शहीदहरूको मात्रै सालिक तथा स्मारक निर्माण गर्न खोजिएको भन्दै सरकारसँग प्रश्न उठाएको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै सांसद बलावती शर्माले विगतका विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदलाई बेवास्ता गर्दै जेनजी शहीदको मात्रै सालिक निर्माण गर्न खोजिनुको कारणबारे प्रश्न गरेकी हुन्।
उनले संसद् सचिवालयको जानकारी र स्वीकृतिबिना नै जेनजी शहीदहरूको सालिक अनावरण गरिएको विषयमा समेत आपत्ति जनाइन्। वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनाका लागि विभिन्न कालखण्डमा भएको संघर्ष र बलिदानलाई राज्यले समान रूपमा सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
सांसद शर्माले २०५२ सालबाट सुरु भएको जनयुद्ध, २०६२र०६३ को जनआन्दोलन तथा मधेश आन्दोलनलगायतका संघर्षको जगमा वर्तमान राजनीतिक व्यवस्था स्थापित भएको स्मरण गराइन्। ती आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको योगदानलाई पनि राज्यले स्मरण गर्नुपर्ने उनले बताइन्।
यसअघि भदौ २१ गते सिंहदरबारस्थित संसद् भवन परिसरमा जेनजी शहीद स्मारक पार्क, सालिक तथा स्तम्भ निर्माणको शिलान्यास गरिएको थियो। अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको उपस्थितिमा जेनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले स्मारक निर्माणको शिलान्यास गरेका थिए।
सरकारले शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदान जीवित राख्ने उद्देश्यले स्मारक पार्क, सालिक तथा स्तम्भ निर्माण गर्न लागिएको जनाएको छ।
तर नेपाली कम्युनिस्ट पार्टीले भने लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विगतका आन्दोलनका शहीदलाई समेत समान रूपमा सम्मान गर्दै उनीहरूको स्मृतिमा पनि संसद् परिसरमा स्मारक वा सालिक निर्माण गर्नुपर्ने मागसहित सरकारको निर्णयमाथि प्रश्न उठाएको हो।
Share this with your friends: