असोज १९ , काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा छलफलका क्रममा एक सांसदले अर्को सांसदको नाम लिएर व्यक्तिगत रूपमा सम्बोधन नगर्न रुलिङ गरिएको छ।
समितिको सोमबार बसेको बैठक सुरु गर्दै सभापति समीक्षा बास्कोटाले छलफललाई व्यवस्थित र मर्यादित बनाउन सांसदहरूलाई एकअर्काको नाम लिएर नबोल्न आग्रह गरेकी हुन्। उनले बोलिरहेका सांसदलाई बीचमै रोक्ने वा तत्कालै प्रतिक्रिया दिने प्रवृत्ति नगर्न पनि निर्देशन दिइन्।
सभापति बास्कोटाले समितिको बैठकलाई सुव्यवस्थित बनाउने जिम्मेवारी सबै सदस्यको भएकाले छलफललाई निर्धारित प्रक्रियाअनुसार अघि बढाउनुपर्ने बताइन्।
बैठकमा मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। समितिमा नेपाल कानुन आयोग ऐन संशोधन विधेयक र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयकसमेत दफावार छलफलमा रहेका छन्।
मेलमिलापसम्बन्धी विधेयकमाथि १२ जना सांसदले ६६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावित व्यवस्थाले मेलमिलाप प्रक्रियालाई थप समावेशी, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
विधेयकमा महिला, दलित तथा जोखिममा रहेका पक्षको प्रतिनिधित्व र सुरक्षा सुनिश्चित गर्ने तथा डर, धाक, धम्की वा दबाबमा गराइएको मेलमिलापलाई मान्यता नदिने प्रावधानसमेत प्रस्ताव गरिएको छ।
त्यस्तै, स्थानीय तहका न्यायिक समितिलाई थप अधिकारसम्पन्न बनाउने विषय पनि विधेयकमा समेटिएको छ।