भदौ १६ , काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले विपद्को जोखिमबारे सांसदहरूले विगतमा सरकारलाई पटक–पटक दिएका सुझाव बेवास्ता गरिँदा अहिले ठूलो क्षति व्यहोर्नुपरेको बताएकी छन्।
मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै पन्तले बाढी, पहिरो, डुबान तथा अतिवृष्टिको जोखिमबारे विपत्ति आउनुअघि नै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइएको स्मरण गराइन्। पूर्वतयारी प्रभावकारी रूपमा गर्न सके क्षति कम गर्न सकिने उनको भनाइ छ।
उनले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, डुबान र अतिवृष्टि अब असामान्य घटना नरहेको बताउँदै जोखिमसम्बन्धी चेतावनीलाई तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरिन्।
पन्तले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न माग गरिन्। जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि उनले आग्रह गरिन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढी तथा विपद्का घटनामा ९८७ जनाको शव फेला परेको, ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको र २७९ जना घाइते भएका छन्। हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना रहेका छन्।