साउन २६ ,काठमाडौं । भारतीय कांग्रेस सांसद प्रियंका गान्धी मंगलबार संसदको वर्षे अधिवेशनका क्रममा बाहिरै राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)का सांसदहरूको विरोध प्रदर्शनमा परेकी छन्। प्रदर्शनका क्रममा एक भाजपा सांसदले राहुल गान्धीलाई लक्षित गर्दै नाराबाजी गरेपछि प्रियंकाले मुस्कुराउँदै उनको प्लेकार्ड हेरेर प्रतिवाद गरेकी छन्।
झारखण्डमा भर्ती परीक्षामा अनियमितता भएको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी तथा रोजगारीका आकांक्षीमाथि सोमबार प्रहरीले बल प्रयोग गरेको घटनालाई लिएर एनडीए सांसदहरूले संसदबाहिर प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा एक भाजपा सांसदले ‘राहुल गान्धी झारखण्ड किन गएनन्रु’ भन्दै प्रश्न उठाएका थिए। प्रियंका केहीबेर रोकिएर प्लेकार्ड हेरेपछि उनले राहुल गान्धी झारखण्डका विद्यार्थीहरूसँग भेटिसकेको भन्दै जवाफ दिइन्।
त्यसपछि पत्रकारहरूसँग कुरा गर्दै प्रियंकाले एनडीए सांसदहरूले प्रदर्शन गर्नुपर्ने अवस्था आउनु विपक्षीहरूको दबाबको परिणाम भएको दाबी गरिन्। उनले गृहमन्त्री अमित शाहले घटनाबारे संसदमा आएर जवाफ दिनुपर्ने मागसमेत गरिन्।
संसद परिसरमा एनडीए र विपक्षी गठबन्धनका सांसदहरूले एकअर्काविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। एनडीएका तर्फबाट कंगना रनौत, अनिल गोविल, अपराजिता सारंगी र अनुराग ठाकुरलगायत सांसद सहभागी थिए भने विपक्षी पक्षबाट प्रियंका गान्धी, अखिलेश यादव र जया बच्चनलगायतले प्रदर्शन गरेका थिए।
झारखण्डमा भर्ती परीक्षामा अनियमितता भएको आरोप लगाउँदै हजारौँ विद्यार्थी तथा रोजगारीका आकांक्षीले सोमबार राज्य विधानसभा नजिक प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूलाई रोक्न प्रहरीले पानीको फोहोरा, अश्रुग्यास तथा लाठीचार्ज प्रयोग गरेको थियो। घटनामा केही प्रदर्शनकारी घाइते भएको दाबी गरिएको छ।
घटनाको विरोधमा भाजपाले झारखण्डमा १६ घण्टे बन्द आह्वान गरेको छ। मंगलबार राँचीका विभिन्न स्थानमा प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै टायर समेत जलाएका थिए। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ।
यसैबीच, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले घटनाबारे मुख्यमन्त्री हेमन्त सोरेन नेतृत्वको झारखण्ड सरकारसँग पार्टीले छलफल गरिरहेको बताएका छन्।