असोज ११, काठमाडौं। रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित सित्खामा पितृ खुसी नभएको आरोपमा महिलाको हत्या गरिएको छ । आइतबार करिब ५२ वर्षीया बिबा माझीको कुटेर हत्या गरिएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।
घाइतेलाई उद्धार गरेर जिल्ला सदरमुकाम मन्थली अस्पतालमा उपचारका लागी भर्ना गरिएको छ ।
हत्याको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । मृतक बिबाकी आमा ७० वर्षीया सुनमाया माझी घाइते छिन् । स्थानीय माझि समुदायले कुटेर सुनमायालाई घाइते बनाएका हुन् । घटनामा संलग्न २३ जना आरोपीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको रामेछापका डिएसपी थिङले जानकारी दिए ।
सोह्रश्राद्ध विसर्जन गर्नुअघि त्यहाँका माझीहरुले घाटमा गएर पितृ बोलाउने परम्परा छ । पितृ बोलाउँदा कोही काम्न थालेमा पितृ आएको विश्वास गरिन्छ । त्यसपछि एकदिन पितृ पालेर पर्सिपल्ट नदीमा बगाउने परम्परा छ । बगाएपछि काम्ने क्रम रोकिन्छ । तर, यसवर्ष केही युवा युवतीहरू काम्न नछाडेपछि बिबाकी आमा छोरीका कारण पितृ खुसी नभएको आरोपमा स्थानीयले कुटपिट गरेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी थिङले बताए ।