भदौ २४, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया ‘उर्मिला’ले रसुवा बाढीमा आफन्त बेपत्ता भएपछि उनीहरूको खोजी गरिदिन आग्रह गर्ने परिवारका सदस्यहरूमाथि सामाजिक सञ्जालमा भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थपलियाले विपत्तिमा परेका परिवारले आफ्ना आफन्तको खोजीका लागि सरकारसँग गरेको आग्रहलाई लिएर सामाजिक सञ्जालमा अमानवीय र तल्लो स्तरका टिप्पणी भइरहेको बताइन्।
उनले विपत्तिका कारण परिवारका सदस्य गुमाएका वा बेपत्ता भएका नागरिकका पीडामाथि मजाक तथा अपमानजनक टिप्पणी गर्नु दुःखद् भएको बताइन्। यस्तो संवेदनशील अवस्थामा अरूको पीडामाथि टिप्पणी गर्ने प्रवृत्तिले समाजमा मानवीय संवेदना कमजोर हुँदै गएको देखाउने उनको भनाइ थियो।
‘अरूको दुःखलाई मजाक नबनाऔं,’ उनले आग्रह गर्दै भनिन्, ‘आज अरूमाथि परेको विपत्ति भोलि हामीमाथि पनि पर्न सक्छ।’
सांसद थपलियाले विपत्तिमा परेका नागरिकको अभिभावक सरकार भएकाले बेपत्ता आफन्तको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। उनले सबै नागरिकको घरपरिवार सुरक्षित रहोस् र कसैले पनि यस्तो विपत्ति भोग्न नपरोस् भन्ने कामना गरिन्।
यसैबीच, उनले त्रिशूली नदीमाथिको फुर्के खोलाको पक्की पुल बाढीले बगाएपछि धादिङ सदरमुकाम र राजधानीसँगको सडक सम्पर्कमा गम्भीर समस्या उत्पन्न भएको भन्दै तत्काल बेलिब्रिज निर्माण गरी सडक सम्पर्क पुनःस्थापित गर्न सरकारसँग माग गरेकी छन्।
Share this with your friends: