साउन २४ ,काठमाडौं । दक्षिण एशियामा पछिल्ला वर्षहरूमा देखिएका युवा नेतृत्वका आन्दोलनहरू रूपान्तरणकारी परिवर्तन ल्याउने सम्भावनामा रहे पनि तिनले केवल सतही परिवर्तनमै सीमित रहने जोखिम रहेको चेतावनी विज्ञहरूले दिएका छन्। महिला तथा सीमान्तकृत समुदायलाई वास्तविक शक्ति नदिएसम्म यस्ता आन्दोलनको उद्देश्य अधुरो रहने उनीहरूको भनाइ छ।
काठमाडौंमा अन्तरपीढी नागरिक मञ्च ९आईसीएफ० द्वारा आयोजित अन्तरपीढी संवादमा बंगलादेशकी वरिष्ठ सामाजिक अभियन्ता तथा नारीवादी खुशी कबीरले लोकतान्त्रिक परिवर्तनमा महिलाको भूमिका अनिवार्य रहेको बताइन्। “जनसंख्याको आधा हिस्सा महिला हुन्, त्यसैले कुनै पनि लोकतान्त्रिक परिवर्तनमा उनीहरूको आवश्यकता र सहभागिता अनिवार्य हुन्छ,” उनले भनिन्।
कबीरले श्रीलंका, बंगलादेश, नेपाल र भारतका केही भागमा युवाले नेतृत्व गरेका आन्दोलनलाई आशाको रूपमा लिँदै पनि ती आन्दोलन भ्रष्टाचार, नातावाद, अधिनायकवाद र असमान प्रणालीविरुद्धको प्रतिक्रिया मात्र भएको उल्लेख गरिन्। उनले दीर्घकालीन परिवर्तनका लागि स्पष्ट योजना र संरचनागत सुधार आवश्यक रहेको बताइन्।
युवती नारीवादी अभियन्ता अस्मिता शाहले पनि सतही परिवर्तनले दीर्घकालीन प्रभाव नपार्ने बताइन्। “रूपान्तरणकारी राजनीति सधैं जरा तहबाट सुरु हुन्छ,” उनले भनिन्। उनले महिला आरक्षण ३३ प्रतिशत भए पनि व्यवहारमा महिलाहरूलाई स्वतन्त्र निर्णय गर्न नदिइने अवस्था रहेको उल्लेख गर्दै प्रतिनिधित्वको वास्तविकता माथि प्रश्न उठाइन्।
कार्यक्रममा बंगलादेशको २०२४ आन्दोलनमा महिलाहरूले अग्रपंक्तिमा संघर्ष गरे पनि पछिल्लो राजनीतिक वार्तामा उनीहरूको सहभागिता न्यून रहेको विषयमा पनि चिन्ता व्यक्त गरिएको थियो। राजनीतिक दलहरूले योग्य महिला अभाव भएको दाबी गर्नु गलत भएको वक्ताहरूले बताएका छन्।
छलफलमा दक्षिण एशियामा बढ्दो धार्मिक कट्टरता पनि चिन्ताको विषय बनेको छ। महिलाको शिक्षा र रोजगारीको विरोध गर्ने समूहहरू लोकतन्त्र र समानताका लागि चुनौती भएको सहभागीहरूले बताए।
कबीरले नारीवादलाई सबैको मुद्दा भएको उल्लेख गर्दै पुरुषहरूको सोच परिवर्तन गर्नु पनि उत्तिकै आवश्यक रहेको बताइन्। “महिलालाई केवल वर्गका रूपमा होइन, मानवका रूपमा स्वीकार गर्ने सोच विकास गर्नुपर्छ,” उनले जोड दिइन्।
कार्यक्रमले युवा आन्दोलनलाई दीर्घकालीन र समावेशी बनाउन महिला, युवा तथा सीमान्तकृत समुदायको समान सहभागिता सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ।