माघ १०, काठमाडौं । नेपाली गीतसङ्गीतको क्षेत्रमा ‘कोकिला’ र ‘स्वरकिन्नरी’को उपाधि पाएकी गायिका तारादेवीको सम्झना गरिएको छ।
उनको १९औँ स्मृति दिवसका अवसर पारेर बुधबार जमलस्थित साँस्कृतिक संस्थानमा ‘सम्झनामा तारादेवी’ साँस्कृतिक साँझ र सम्मान कार्यक्रम गरिएको हो।कार्यक्रममा तारादेवीकै लोकप्रिय गीतहरूमार्फत उनको स्मरण गरियो ।
तारादेवीका छोरा तथा फाउण्डेसनका संरक्षक रवि श्रेष्ठले आफ्नी आमाले नेपाली साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानलाई सम्झिने, चर्चा गर्ने र यसै क्षेत्रमा संलग्न व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्य रहेको बताए। ‘आमाको स्मृति दिवसमा गरिने कार्यक्रमले सङ्गीतकर्मीलाई सहयोग पुगोस् भनेर हामीले सम्मान गर्ने गरेका छौँ’, उनले भने, ‘उहाँको सपनालाई पूरा गर्न फाउण्डेसनले निरन्तर कामहरू गरिरहेको छ।’
यो अवसरमा गीतकार तथा सङ्गीतकार सिके रसाइली, तीर्थकुमारी थापालगायतलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरियो।
तारादेवीका ‘उकाली ओरालीहरूमा’, तिम्रा पाउहरूमा म’, ‘सोचेजस्तो हुन्न जीवन’,‘शुभकामना भरि’, ‘हिमालको काखमा छ प्यारो मेरो गाउँ, आमा भएर बोकी हेर’ र ‘कालीपारे दाइ कति राम्रो’ लगायत गीत लोकप्रिय छन् ।
उनले गीतकार चाँदनी शाह, माधवप्रसाद घिमिरेलगायत थुप्रै चर्चित गीतकार र नातिकाजीलगायत मूर्धन्य व्यक्तिको सङ्गीत संयोजनमा करिब चार हजार गीत गाएको बताइन्छ।
उनको निधन २०६२ माघ ९ गते भएको थियो।