भदौ ३०, काठमाडौं । मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो नगरपालिका सञ्चालनमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेकी छन्। उनले संघीय सरकारको हस्तक्षेपका कारण नगरपालिका अस्तव्यस्त बनेको भन्दै पाँच बुँदे सार्वजनिक अपिल जारी गरेकी हुन्।
मेयर साहका अनुसार मौलापुर नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको अभाव छ। यसका कारण नगरपालिकाको दैनिक प्रशासनिक कामदेखि विकास निर्माण र नागरिकलाई दिइने सेवासमेत प्रभावित भएको उनको भनाइ छ। गत आर्थिक वर्षमा नगरपालिकाको बजेट खर्च करिब ५० प्रतिशतमा झरेको उनले बताएकी छन्।
उनले कर्मचारीको तलब र जनप्रतिनिधिको सुविधा लामो समयदेखि भुक्तानी हुन नसकेको विषय प्रधानमन्त्रीसमक्ष उठाएकी छन्। केही कर्मचारीको तलब दुई महिनादेखि आठ महिनासम्म रोकिएको उनको दाबी छ।
त्यस्तै, वडा नम्बर ९ मा निर्माण भइरहेको एकीकृत दलित बस्तीको काम पनि भुक्तानी नहुँदा प्रभावित भएको उनले बताएकी छन्। विपन्न दलित समुदायका लागि निर्माण भइरहेको उक्त बस्तीको काम रोकिँदा उनीहरूलाई समस्या परेको उनको भनाइ छ।
मेयर साहले नगरपालिकाको निःशुल्क बिजुली–पानी कार्यक्रमका पाँच हजारभन्दा बढी लाभग्राहीको विद्युत् महसुलसमेत भुक्तानी हुन नसकेको बताएकी छन्। महसुल नतिरेका कारण विद्युत् प्राधिकरणले लाइन काट्न थालेको भन्दै यसबाट स्थानीय नागरिकमा आक्रोश बढ्न सक्ने उनले चेतावनी दिएकी छन्।
त्यसैगरी, ‘छोरीसँग मेयर’ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा भुक्तानी हुन बाँकी रहेका तीन सयभन्दा बढी विपन्न परिवारलाई छोरीको विवाहका लागि दिने अनुदान रोकिएको उनले बताएकी छन्।
मेयर साहले नगरपालिकामा इन्धन, इन्टरनेट र फोहोर व्यवस्थापनजस्ता आधारभूत सेवा पनि प्रभावित भएको बताउँदै तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न प्रधानमन्त्री बालेनसँग आग्रह गरेकी छन्। प्रधानमन्त्री शाह आफैँ काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्रमुख प्रशासकीय अधिकृत नहुँदाको समस्या भोगिसकेको उल्लेख गर्दै उनले मौलापुरको अवस्था बुझिदिन अनुरोध गरेकी हुन्।